 
काठमाडौं, १ मंसिर । एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टोली बुधबार (आज) बेलुका स्वदेश फर्किदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा उत्रिने नेपाली टोलीलाई भव्य स्वागत गरिनेछ ।
साथै राति नै खेलाडीहरुलाई विमानस्थलबाट नगरपरिक्रमा गराउने कार्यक्रम पनि छ । उपाधि विजेता नेपाली टोलीलाई राजधानीको गौशाला, बत्तिसपुतली, मैतीदेवी, पुतलीसडक, घण्टाघर, शहिदगेट, न्यूरोड, दरबारमार्ग, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, मंगलबजार, ग्वार्को हुँदै एन्फा कम्प्लेक्स सातदोबाटो पुर्याइने एन्फाले जनाएको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपाली टिमलाई दिने नगद पुरस्कारलगायत अरु सम्मानबारे एन्फाको कार्यसमितिको बैठकले निर्णय गर्ने बताए । यसअघि सरकारले नेपाली टिमका प्रत्येक खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।


