गगन थापालाई प्रश्न : गगन थापा ज्यू ! सुजाताको स्तन बचाउने कि तपाईको लिंग ?
 
Source:http://www.osnepal.com/230109
सरगम भट्टराई
माननीय स्वास्थ्य मन्त्रीज्यू
नमस्कार ।
मलाई मात्रै हैन तपाई स्वास्थ्य मन्त्री बन्दा यो धमिलो राजनितीले अमिलो मन भएका तीन करोड जनताहरुमा आशाको सन्चार भएको थियो । मैले मात्र हैन तपाईलाई धेरै शुभचिन्तकहरुले खबरदारी सहित शुभकामना दिईरहेका थिए ।
फेरि पनि बारम्बार तपाईँ र तपाई सम्मिलित मन्त्री परिषदलाई यो खुला पत्र लेख्दा मलाई लज्जाको अनुभूति भईरहेको छ ।
राज्य कोषबाट भि आई. पी. हरुले आर्थिक सुबिधा भन्दै ढुकुटी दोहन गर्ने क्रम बढिरहँदा तपाईको सकृयतामा भि आई पी हरुले देशको ढुकुटी दोहन गर्न पाईन्न, राज्यले दिने आर्थिक सहयोग सम्बन्धि कार्यबिधी बन्दै छ भन्दा अलि आश जागेकै थियो। तर कार्यबिधि नबन्दै आफ्ना मान्छेलाई भटाभट रकम बाँडेर दुनियाँ छल्न त्यो भुत्ते कार्यबिधि किन बनाउन लाग्नु भएको हो ? मैले मात्र हैन कसैले पनि कुरा बुझेको छैन ।
यदि मन्त्री परिषदले तपाईको ईच्छा बिपरित यसै गरी अलोकप्रिय हर्कत गर्दै जान्छ भने तपाई त्यसमा टाँसिएरै बस्नु हुन्छ भने त्यो लिप्सालाई हामीले के बुझ्ने ?
एका एक तपाईकै मन्त्री परिषदले एक नम्बर भ्रष्टाचारी खुम बहादुर खड्का लाई १५ लाख आर्थिक सहायता दिए लगत्तै अर्बपति नेतृ सूजातालाई स्तन क्यान्सरको उपचारका लागि भनेर ५० लाख दिने निर्णय हुँदा सम्म तपाईको स्वास्थ्य मन्त्रीको रुपमा निरिहता प्रष्ट देखिएको देख्दा यो देशमा ईमान हराएको मात्र हैन जवान हराएको पनि पक्का भयो ।
तपाईले त अझ पोखरा गएको बेला मलाई झुक्याईयो, गलत गरियो भनेर सामाजिक मिडियामा अलाप गर्नु भएको देख्दा मलाई तपाई प्रति दया लागेर आयो , के तपाईलाई चित्त नबुझेको कुरा फर्केर आएपछि त्यसको बिरुद्दमा बोल्ने हिम्मत गर्न सक्नु हुन्न ? मन्त्री परिषदकै दवाव झेल्न सक्नु हुन्न भने त्यहाँ बसिरहनुको के तुक ? यदि साँच्चै देश भक्त हुनुहुन्छ भने राजिनामा दिएर जनताको बिचमा आउन किन सक्नु हुन्न ?
प्रिय स्वास्थ्य मन्त्री ज्यू,
सिटामोल खान नपाएर जनता मर्ने देशमा ज्वरो जचाउन समेत त्यो पनि राज्य कोषको दोहन गरेर थाईल्याण्ड ,सिंगापुर र अमेरिका जाने जो कोही पनि राम्रा मान्छे हुँदै होईनन्, देशमै भएको स्वास्थ्य सेवालाई बिश्वास नगर्नेहरुबाट भोलि सुधार होला भनेर के आशा राख्नु र ?
अझ खरो कुरा गर्ने हो भने त सुजाता दिदी गरीब पनि थिईनन्, उनी राज्य बिप्लवमा बर्षौँ जेल बसेर राज्यले उनको सम्पत्ति जफत गरेको पनि हैन, उनले राज्यलाई केहि त्यस्तो गुन पनि लगाएकी छैनन् ,अर्बपति हुन् उनी । ब्यक्तिगत रुपमा हेर्ने हो भने लाख लाखको त ब्याग मात्र बोक्छिन् उनले, त्यसै माथि प्रशस्त अरबौँको सम्पत्ति पनि छ उनको तर पनि उनलाई नै उपचार खर्च दिन के को अप्ठेरो पर्यो यो सरकारलाई ? यसो गर्दा अस्ति भर्खर क्यान्सर लागेर मरेकी किशोरीलाई सम्झनु भएन ? उपचार खर्च नभएर अस्पत्तालको छत बाट हाम फालेर मर्नेहरुको बारेमा सोच्नु भएन ? माओवादीका नेता भक्ति पाण्डे पनि क्यान्सर भएरै मरे उनलाई किन उपचार खर्च दिईएन ? किन तुलसी गिरीलाई उपचार खर्च दिईएन ?
सुडानलाई बिर्साउने कालिकोटका तस्बिरहरु भाईरल भईरहँदा अरबौं की मालिक्नी सुजाताले एक करोड माग्दा लाज नमाने पनि तपाईको मन्त्री परिषदले लाज मान्नु पर्ने हो ! तपाईको बोली र ब्यवहार एउटै किन हुन सकेन गगन थापा ज्यू ?
हुँदा हुँदा पहूँच भएकाहरुलाई यसै गरी जनताको करबाट उठाएको पैसा बाँड्ने हो भने सुजाताको जस्तो हैसियत भएका सबै पार्टीका ५००० बढि केन्द्रीय सदस्यहरुलाई पनि पचास लाखका दरले बाँड्ने कार्यबिधि बनाऔँ अहिले सामाजिक मिडियामा मान्छेहरु आक्रोसित भएर लेखिरहेका छन्: त्यसका लागि बिमानस्थलमा आउने रातो बाकसहरुमा पनि भन्सार लगाऔँ, ती रातो बाकस अंगालो हालेर रुनेहरुका आँशुमा पनि भन्सार लगाऔँ ।
किनकी देश तपाईहरुको मात्रै रहेछ, तपाईहरुले चाहे जे पनि हुने रहेछ ।
साँच्चै देशको माया छ भने अझै पनि बिवेकशील बनेर यो हर्कत रोक्नुस होईन भने मस्तीको जीवन जिउने अर्बपति सुजाताको स्तन बचाउने ध्याउन्नमा तपाईको लिंग(अहिले सम्म बनेको पहिचान) हराउला, ख्याल गर्नु होला ।
तपाईको शुभचिन्तक


